Saturday, April 23, 2011

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -9

समकालीन सिक्किमेली साहित्यिक पत्रकारिता

समकालीन सिक्किमेली साहित्यिक पत्रकारिताको कुरा गर्दा यहॉं केही पत्र-पत्रिकाले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएका छन्। सिक्किमबाट प्रकाशित हुने केही साहित्यिक पत्रिकाले नेपाली साहित्यको विकासमा पुऱ्याएको योगदान अनुकरणीय र अतुलनीय रहेको छ। यस दिशामा स्रष्टा, निर्माण र प्रक्रिया पत्रिकाको नाम सम्मानका साथ लिन सकिन्छ। स्रष्टा पत्रिकाका विविध विशेषाङ्कहरूमा सिक्किम वाङ्मय विशेषाङ्क, भारतीय नेपाली कथा विशेषाङ्क, शहीद विशेषाङ्क, अन्तर्राष्ट्रिय नेपाली कविता विशेषाङ्क, लिला लेखन विशेषाङ्क उल्लेखनीय रहेका छन्। शहीद विशेषाङ्कले जीवनी साहित्यको विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको छ। यसरी नै निर्माण पत्रिकाका विशेषाङ्कहरू-संस्कृति विशेषाङ्क, रजत जयन्ती विशेषाङ्क, गुमानसिंह चामलिङ विशेषाङ्क, भाषा विशेषाङ्क, सिक्किम वाङ्मय विशेषाङ्क, गोपाल गाउँले स्मृति अङ्क आदि महत्वपूर्ण रहेका छन्। यसरी नै प्रक्रियाले पनि विभिन्न विशेषाङ्कमा समय-समयमा प्रकाशित गरेर उल्लेखनीय कार्य गर्दै आएको छ। प्रक्रियाका विशिष्ट लेखिका विशेषाङ्क, भाषा मान्यता विशेषाङ्क, भारतीय दिवाङ्गत नेपाली कवि विशेषाङ्क, विविध विषयक विशेषाङ्क, सिक्किम अङ्ग विशेषाङ्क, कृपाशाल्यान स्मृति अङ्कले पनि नेपाली साहित्यको विकासमा ठूलो योगदान पुऱ्याएका छन्। समकालीन सिक्किमेली साहित्यिक पत्रकारितामा यी ७० का दशकमा शुरू भएका पत्र-पत्रिका आज पनि निरन्तर प्रकाशन भइरहेका छन् अनि साहित्यको विकासमा प्रतिबद्ध छन्।

समकालीन सिक्किमेली साहित्यिक पत्रकारितामा १९९०-को दशकअघिदेखि निरन्तर प्रकाशन भइरहेका अनि यस अवधिमा पनि प्रकाशन भइरहेको पत्रिकाहरू यस प्रकार छन्-नरबहादुर भण्डारीको अर्चना (१९७३-१९९४), पवन चामलिङको निर्माण (१९७८), वीरभद्र कार्कीढोलीको प्रक्रिया (१९८६), केदार गुरूङ र उपमान बस्नेतको स्रष्टा (१९७९), प्रद्युम्न श्रेष्ठको सिद्धि (१९८१), उपमान बस्नेतको ढोलढ्याङ्ग्रो (१९८४), नेपाली साहित्य परिषद्को कनका (१९८६), प्रवीण राई जुमेलीको बार्दली (१९८६), पुण्यप्रसाद शर्माको जनपक्ष (१९८६), नन्दू दूतराज निशाको तालू (१९८८) आदि।

यसरी नै सन् १९९०-देखि यता शुरू भएका पत्र-पत्रिकाहरू यस प्रकार छन्- मोहन प्रधानको सञ्जीवनी (१९९०), वीरभद्र कार्कीढोलीको स्थापना (१९९०), कृष्ण छेत्री र अन्यको प्रभास (१९९१), सी.के. श्रेष्ठको आधार (१९९१), रूद्र पौड्यालको मुनाल (१९९१), चक्रपाणि भट्टराईको पूर्णिमा (१९९१), नन्दू दूतराज निशाको स्मृति (१९९२), धन निर्दोषको बगर (१९९२), लक्ष्मीकान्त ज्योतको पहाड़े (१९९२), के.एस. राईको मजिटो (१९९२), आर सी शर्माको लभ मेरिज (१९९३), नयन कुमार राई र अन्यको नव अभियान (१९९३), टी.बी. चन्द्र सुब्बाको किनार (१९९३), कपिलमणि अधिकारीको सूर्योदय (१९९४), छिरिङ पाञ्जो शेर्पाको थुतुने (१९९४), जीआर खुलालको स्वयम्बर (१९९४), कृष्णदास राईको बातोङ (१९९४), कृष्ण छेत्रीको अस्मिता (१९९५), कुवेर चापागाईंको झरना (१९९५), राम प्रसाद राईको बाबरी (१९९५), टीबीचन्द्र सुब्बाको ज्वारभाटा (१९९५), डीके अञ्जानको सम्पत्ति (१९९५), चक्रपाणि भट्टराईको कला संस्कृति (१९९५), चक्रपाणि भट्टराई र अन्यको युग (१९९५), बुद्धिमान प्रधान र अन्यको हिमरेखा (१९९७), प्रेम थुलुङ र वाङ्दी छिरिङ लामाको मैनाम (१९९७), हरिष मोक्तान अल्लारेको हस्ताक्षर (१९९७), टीका ढुङ्गेलको प्रदिपिका (१९९७), अशोक प्रशान्तको छायॉं (१९९८), मोहन प्रकाश राईको परिमल (१९९८), डीके अञ्जानको आत्मचिन्तन (१९९८), ओपी राईको निशानी (१९९८), नेपाली साहित्य परिषद्को भानु स्मारिका (१९९८), चम्पादिवस राईको नागबेली (१९९९), एलबी छेत्रीको सम्झना (१९९९), मनबहादुर लिम्बूको भालेढुङ्गा (१९९९), हरिभक्त अधिकारीको चौंरी डॉंड़ा (१९९९), पारसमणि शमको अग्निशिखा (१९९९), भानु प्रधानको श्रद्धाञ्जली (१९९८), भीम प्रधानको बाल दर्पण (२०००), टङ्क सुवेदीको दिग्दर्शन (२००२), जिपी अनाथको दिव्यभारती (२००५), सुवास तामङ अतितको जमर्को (२००२), डा. दिवाकर प्रधान र खगेन्द्र मणि प्रधानको कल्पतहरू (२००२), चुनिलाल घिमिरेको जागृति (२००२), वीरभद्र कार्कीढोलीको पीढ़ी (२००२), प्रताप बस्नेतको मोक्ष (२००२), मित्रलाल निरौलाको अजम्बरी (२००२), हरि प्रधानको युवा मञ्च (२००३), धनसिंह विश्वको उल्का (२००४), टीका ढुङ्गेलको र चन्द्र दुलालको पूर्वाधार (२००३), एम.टी. लामाको अर्पण (२००४), राधा प्रधान र अन्यको सिक्किम श्री (२००४), प्रेम कार्कीको युवा चिन्तन (२००६), कविता सुब्बाको नारी शक्ति (२००५) आदि।


निष्कर्ष

समकालीन सिक्किमेली साहित्यमा कथा, कविता, उपन्यास, लेख निबन्ध, संस्मरण, नाटक आदि सबै साहित्यिक विधाको विकासमा सिक्किम अग्रसर रहेको छ। यस अवधिका साहित्यिक रचनाहरूमा पूर्वीय र पाश्चात्य दुवै साहित्यको प्रभाव स्पष्ट देखिन्छ। मूलतः यस अवधिमा आएर सिक्किमले साहित्यिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको स्पष्ट भएर जान्छ। प्रस्तुत लेखमा सन्‌ १९९०-देखि यताको सिक्किमेली समकालीन साहित्यिक गतिविधिलाई टिप्पणीमूलक र विकासक्रमिक रूपमा चर्चा गर्ने प्रयास गरिए पनि समय अभावका कारण यस लेखमा केही पुस्तकहरूको उल्लेख गर्न अनि केही अलङ्कारहरूको नाम छुट्न गएको हुनसक्छ। पछि कुनै समयमा यसमा संसोधन गरेर छुटिएका नामहरू समावेश गर्ने प्रयास यस लेखकको रहनेछ। यद्यपि, प्रस्तुत लेखमा छुटिएका नामहरूप्रति खेद प्रकट गर्दै भविष्यमा सुधार्ने प्रतिबद्घता व्यक्त नगरि रहन सकिंँदैन।

यस अवधिमा सिक्किमले नेपाली साहित्यको विकासमा आफ्नै दक्षताका आधारमा योगदान पुऱ्याएको छ। यस अवधिमा आएर सिक्किमले नेपाली साहित्यको विकासमा जति कार्य गरेको छ त्यसको सही मूल्याङ्कनका लागि लामो समय लाग्नेछ। यद्यपि, के देखिन्छ भनेआजको सिक्किमेली साहित्य गुणात्मकता र संख्यात्मकता दुवै दृष्टिमा धेरै अघि छ र यहॉंबाट प्रकाशित साहित्यिक कृतिहरू नेपाली साहित्यमा नै महत्वपूर्ण र उल्लेखनीय कृतिहरू बन्नपुगेका छन्। सिक्किमले नेपाली साहित्यका अब्बल साहित्यकारहरूलाई जन्मदिइसकेको छ। कविता कथा, निबन्ध, संस्मरण आदि विधाका साथसाथै औपन्यासिक विधामा पनि सिक्किमले सशक्त उपस्थिति दिनसक्नु नेपाली साहित्यका लागि उल्लेखनीय उपलब्धि हो।


नोट ः प्रस्तुत लेख तयार गर्दा अनेक पत्रपत्रिका र पुस्तकको सहयोग लिइएको छ, जसका लागि पत्र-पत्रिकाका सम्पादक र लेखकहरूप्रति आभार प्रकट गरिन्छ- लेखक।

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -8

समकालीन सिक्किमेली संस्मरण साहित्य

सिक्किमेली समकालीन साहित्यको सन्दर्भमा कुरा गर्नुपर्दा संस्मरण, नियात्रा साहित्य विकासोन्मुख दिशामै अग्रसर छ। यस दिशामा थोरै कलमकारहरूले कलम चलाए पनि दुइ चारवटा उत्कृष्ट संस्मरणात्मक कृतिहरू सिर्जना भइसकेका छन्। यद्यपि फट्याक फुटुक संस्मरणात्मक लेखहरूमै समकालीन सिक्किमेली संस्मरण साहित्य सीमित रहेको छ। विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित संस्मरणात्मक लेखहरू र केही स्मृति ग्रन्थहरूमा प्रकाशित संस्मरणात्मक लेखहरू नै बड़ी सिर्जना भएको देखिन्छ।

संस्मरण साहित्यमा कलम चलाउने समकालीन सिक्किमेली साहित्यकारहरू हुन्-सानु लामा, डा. शान्ति छेत्री, मटिल्डा राई, पवन चामलिङ "किरण', प्रद्युम्न श्रेष्ठ आदि। सौप लामाको यात्रा संस्मरणमा आधारित दुइ कृति प्रकाशित भएका छन्। औपन्यासिक परिपाटीमा लेखिएको अनि माथि अनुभवन्यास भनेर चर्चा गरिसकिएको हिमालचुली मन्तिर (१९९८)। उनको यस विधामा सिर्जना भएको विशुद्ध संस्मरणात्मक कृति हो। उनको विदेश भ्रमणका आधारमा लेखिएको आँगन परतिर (१९९९) अर्को संस्मरणात्मक कृति नेपाली साहित्यमा उत्तराधुनिक लेखन शैलीमा सिर्जना गरिएको उत्कृष्ट साहित्यिक कृति बन्न पुगेको छ।
यस विधामा देखा परेकी अर्की सशक्त प्रतिभा हुन्‌ डा. शान्ति छेत्री, उनको यूरोप भ्रमण केही संस्मरण (१९९८) यूरोपका राष्ट्रहरूमा गरिएका भ्रमणहरूलाई लिएर लेखिएको छ। यसमा उनका १४ वटा लेखहरूमा उनले तुलनात्मक दृष्टिकोणसमेत राखेर रचनाहरूको सिर्जना गरेकी छन्। संस्मरण साहित्यमा देखा परेकी अर्की सशक्त प्रतिभा हुन् मटिल्डा राई। उनको आफ्ना देश विदेशका भ्रमणमा प्राप्त गरेका अनुभुति र अन्य स्मृतिमूलक घटनाहरूलाई लिएर रोचक शैलीमा लेखिएका ३१ वटा संस्मरणात्मक लेखहरूको सॅंगालो जीवनका केही रेखा केही रंग ( २००१)-मा प्रकाशित छन्।

संस्मरण साहित्यमा आफ्नो सशक्त उपस्थिति दिने अनि आफ्नो जीवन संघर्षका विविध पाटालाई केलाउँदै राजनैतिक पृष्ठभूमिमा संस्मरण लेख्ने संस्मरणकार हुन् पवन चामलिङ। उनको सिक्किमेली राजनैतिक इतिहासको सेरोफेरोमा आत्मवृतान्तमूलक शैलीमा लेखिएको प्रजातान्त्रिक आन्दोलनको आत्म-संघर्ष (२००४) प्रकाशित भएको छ। हुन त यस कृतिलाई राजनैतिक लेखहरूको संग्रह भनिए पनि यसमा पवन चामलिङको जीवनको एक पाटाका महत्वपूर्ण घटनाहरूलाई प्रस्तुत संस्मरणात्मक रूपमा गरिएको कारण संस्मरण साहित्यभित्र गणना गर्न सकिने प्रशस्त ठाउँ रहेको छ।

सिक्किमेली संस्मरण साहित्यमा निरन्तर कलम चलाउने कलमकार हुन्- प्रद्युम्न श्रेष्ठ। उनका विशुद्ध संस्मरण र यात्रा संस्मरणहरू विभिन पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। यस विधामा उनका दुइ पुस्तक पनि प्रकाशित छन्। पहिलो पुस्तक मेरा केही स्मृतिहरू (१९९४)-मा संस्मरणहरूलाई संग्रह गरिएको छ भने दोस्रो मेरा केही यात्रा संस्मरणहरू (१९९५)-मा यात्रा संस्मरणहरूलाई राखिएको छ।

यस विधामा कलम चलाउने अन्य कलमकारहरू हुन्- वीरभद्र कार्कीढोली, उपमान बस्नेत, केदार गुरुङ, शिव प्रधान, विजयकुमार सुब्बा, चम्पादिवस राई, भीम दाहाल, सानुभाइ शर्मा, मोहन प्रधान "नीरज', डिल्लीराम अधिकारी, सुधा राई, प्रा. गीता निरौला, गोबर्धन बॉंस्तोला, लक्ष्मी गुरूङ, प्रेम थुलुङ, प्रवीण राई जुमेली, रुद्र पौड्याल, चक्रपाणि भट्टराई, टीबी चन्द्र सुब्बा, विजय बान्तवा, सुवास दीपक, सीडी राई, सन्तोष बर्देवा, उदय छेत्री, राजेन्द्र भण्डारी, वत्स गोपाल, डा.घनश्याम नेपाल, पुण्यप्रसाद शर्मा, डा. पुष्प शर्मा, दीपक तिवारी आदि।